निर्वाचन निष्पक्ष गराउन सरकारको सतप्रतिशत प्रयास : मन्त्री इङनाम

180 Shares

काठमाडौं । डा. कुमार इङनामले सरकारले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउन सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताउनुभएको छ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री इङनामले सरकार आफ्नो म्यान्डेटअनुसार स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

उहाँले भ्रष्टाचार नियन्त्रणका विषयमा भने सरकारले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको स्वीकार गर्नुभयो। भ्रष्टाचार नियन्त्रण जटिल विषय भएकाले अपेक्षाअनुसार काम हुन नसकेको उल्लेख गर्दै यसका विभिन्न कारण रहेको बताउनुभयो।

मन्त्री इङनामले भन्नुभयो, “सरकारले दैनिक प्रशासनिक कामहरू गरिरहेको छ। भ्रष्टाचार नियन्त्रणको विषय निकै जटिल छ, यसमा अपेक्षित उपलब्धि नभएको मलाई पनि लाग्छ। यसको विश्लेषण गरेर बस्ने अवस्था अहिले त्यति सान्दर्भिक हुँदैन। जहाँसम्म निर्वाचनको कुरा छ, सम्पूर्ण तयारी पूरा भइसकेको छ। अब दुई–तीन दिनपछि मत हाल्ने र त्यसपछि मतपेटिका गणना गर्ने काम मात्र बाँकी छ। सुरक्षा अवस्था, कर्मचारी व्यवस्थापन र अन्य तयारीहरू पूरा भएका छन्। सरकार गठन हुँदा पाएको म्यान्डेट नै निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्नु हो, त्यसमा सरकार सतप्रतिशत लागेको छ।”

उहाँले निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि गतिविधि निस्तेज पार्न सरकार सक्रिय रहेको जिकिर गर्नुभयो।