काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा ‘शून्य सहनशीलता’ को नीति अपनाउने चेतावनी दिएको छ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शून्य समयमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा समेत उम्मेदवारी खारेज गरिने स्पष्ट पार्नुभयो।
हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनसम्बन्धी करिब १ हजार १ सय उजुरी परेको उहाँले जानकारी दिनुभयो। तीमध्ये अधिकांश उजुरी स्थानीय तहबाटै फर्स्योट भइसकेका छन्। आयोगले २५–३० वटा गम्भीर प्रकृतिका उजुरीमाथि केन्द्रीय स्तरबाट कारबाहीको निर्णय गरिसकेको र केही विषय अदालतमा समेत पुगेको बताइएको छ।
उहाँले भन्नुभयो, “यदि कसैले रकम लेनदेन गरेको वा निर्वाचन सामग्री र रकमको झोला एकै ठाउँमा बोकेर हिँडेको प्रमाण भेटिएमा र त्यो बरामद भएमा उम्मेदवारी खारेज मात्र होइन, अर्को ६ वर्षसम्म निर्वाचनमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइनेछ। एउटा राजनीतिक प्राणीलाई राजनीतिबाट ६ वर्ष वञ्चित गरिनु सबैभन्दा ठूलो सजाय हो।”
निर्वाचन आयोग कुनै पनि दबाबमा नपरी कानुन बमोजिम काम गर्न दृढ रहेको उहाँको दाबी छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया