काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन्।
निर्वाचन आयोगका अनुसार देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्रको व्यवस्था गरिएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रिया सहज र छिटो बनाउन विशेष प्रबन्ध मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। साथै वृद्धवृद्धा, सुत्केरी, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरिएको छ।
उहाँले भन्नुभयो, “एक मतदातालाई मतदान गर्न १ देखि २ मिनेट मात्र लाग्नेछ। कुनै पनि मतदान केन्द्रमा १ हजारभन्दा बढी मतदाता छैनन्, त्यसैले धेरै समय लाइनमा कुर्नु पर्दैन।”
प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदातालाई आफ्नो परिचयपत्र सुरक्षित राख्न र बिहान ७ बजेदेखि नै मतदानमा सहभागी हुन आग्रह गर्नुभयो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आयोगले कुनै कसर बाँकी नराखेको उहाँको दाबी छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया