यूएईमा रहेका नेपालीलाई दूतावासद्वारा अपुष्ट सूचना नफैलाउन आग्रह

137 Shares

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावास यूएई ले यूएईमा विकसित भइरहेको परिस्थितिसँग सम्बन्धित अपुष्ट र भ्रामक सामग्री नफैलाउन त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत आग्रह गरेको छ।

दूतावासले ‘एड्भाइजरी-२’ जारी गर्दै अज्ञात स्रोतबाट आएका सूचना, हल्ला वा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको हो। सामाजिक सञ्जाल वा अन्य प्राविधिक माध्यममार्फत अपुष्ट सामग्री सेयर गर्दा सुरक्षा अवस्थाबारे अन्योल र भ्रम सिर्जना हुन सक्ने भएकाले यस्तो कार्य नगर्न सचेत गराइएको छ।

साथै, परिस्थितिसम्बन्धी फोटो वा भिडियो खिचेर पोस्ट गर्दा पनि जिम्मेवार हुन दूतावासले अपिल गरेको छ। यूएईका सम्बन्धित निकायले यस्ता गतिविधि कानुनअनुसार दण्डनीय हुने चेतावनी जारी गरिसकेको उल्लेख गरिएको छ। त्यसैले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय कानुनको पूर्ण पालना गर्न र अफवाह फैलाउने कार्यबाट टाढा रहन आग्रह गरिएको छ।

दूतावासले सही र आधिकारिक जानकारीका लागि यूएई सरकारका आधिकारिक निकायको वेबसाइट तथा सूचनामार्फत अपडेट लिन अनुरोध गरेको छ। यूएईका सरकारी निकायबाट जारी हुने सूचना तथा अपडेटलाई मात्र आधार मान्न भनिएको छ।

यसअघि पनि दूतावासले पहिलो एड्भाइजरी जारी गर्दै अनावश्यक यात्रा नगर्न अनुरोध गरिसकेको थियो।