काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ ।
आइतबार बिहान कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ । तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लागेको छ ।
दिउँसो देशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ, यद्यपि केही स्थानमा बिहानको समयमा हुस्सु कायम रहने सम्भावना छ ।
कोशी, गण्डकी तथा अन्य प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन–चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने कोशी र गण्डकीका पहाडी भू–भागसहित अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहने बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया