राप्रपा एक्लै चुनाव लड्दैछ : राजेन्द्र लिङदेन

168 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले आफ्नो पार्टी कुनै पनि शक्तिसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको स्पष्ट पारेका छन्।

शनिबार झापा निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजित चुनावी कार्यक्रममा उनले घोषित वा अघोषित रूपमा कुनै दलसँग तालमेल नगरेको दाबी गर्दै राप्रपाको आफ्नै शक्तिमाथि भरोसा गर्न मतदातालाई आग्रह गरे।

लिङदेनले विशेषगरी नेकपा (एमाले)का कार्यकर्ता र शुभेच्छुकलाई विगतका चुनावमा आफूलाई समर्थन गरेको स्मरण गर्दै कृतज्ञता व्यक्त गरे। उनले एमाले समर्थकलाई प्रश्न गर्दै भने, “सूर्य चिन्हमा भोट हाल्नेले हलोमा भोट दिँदा अपराध गरेँ भन्ने लाग्छ?”

आफ्नो कार्यकालको समीक्षा गर्दै उनले आफूले भ्रष्टाचार नगरेको, कुनै प्रकारको पक्षपात नगरेको र संसदमा समग्र देशहितको पक्षमा आवाज उठाएको दाबी गरे। “मैले कुनै जात, धर्म वा पक्षको मात्र होइन, राष्ट्रिय एकता र सहमतिका लागि आवाज उठाएको छु,” उनले भने।

देशमा शान्ति, स्थिरता र एकता कायम गर्न राप्रपा बलियो बन्नुपर्ने जिकिर गर्दै लिङदेनले आफू पुनः संसदमा पुग्नु आवश्यक रहेको बताए। उनले मतदातालाई विवेकपूर्ण निर्णय गरेर देशको भविष्यका लागि मतदान गर्न आग्रह गरे।