राष्ट्रिय स्वाधीनतामाथि गम्भीर चुनौती : प्रचण्ड

161 Shares

काठमाडौं । पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनता र आत्मसम्मानमाथि गम्भीर चुनौती थपिएको बताएका छन्।

रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक समेत रहेका दाहालले विदेशी प्रतिक्रियावादी शक्ति र तिनका दलालविरुद्ध नयाँ एकता र शक्तिका साथ प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याए। उनले रोल्पालाई नेपाली जनवादी क्रान्तिको किल्ला तथा ‘क्रान्तिको राजधानी’का रूपमा चित्रण गरे।

“रोल्पामा उभिएर सम्बोधन गर्दा मैले देशभरिका ७७ वटै जिल्लाका जनतालाई सम्बोधन गरेको महसुस गरेको छु,” उनले भने, “यहाँका सहिद, बेपत्ता योद्धा र क्रान्तिकारी जनताको त्यागले नै १० वर्षे जनयुद्ध सफल भएको हो।”

आफू पहिलो पटक रोल्पाबाटै निर्वाचित भएर प्रधानमन्त्री बनेको स्मरण गर्दै दाहालले रोल्पावासीप्रति सधैं ऋणी रहेको बताए।

राष्ट्रिय संकट र विदेशी हस्तक्षेप

वर्तमान राजनीतिक अवस्था ‘असहज’ र ‘जटिल’ रहेको उल्लेख गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको आरोप लगाए। जेन–जी युवाहरूको आन्दोलनपछि विकसित घटनाक्रमले निर्वाचनको वातावरण असहज बनेको उनको भनाइ थियो।

यसपटक रुकुम पूर्वबाट उम्मेदवारी दिनुको उद्देश्य राष्ट्र बचाउने नयाँ अभियान रहेको उनले प्रष्ट पारे। रोल्पा–रुकुम क्षेत्रलाई केन्द्रीय आधार इलाका बताउँदै यहाँबाट सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको सन्देश देशभर फैलाउने दाबी गरे।

समाजवादतर्फ नयाँ यात्रा

दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रामार्फत समाजवादतर्फ अघि बढ्न सबैलाई आह्वान गरे। विदेशी हस्तक्षेपको प्रतिवाद गर्न नेपाली जनता नयाँ एकताका साथ तयार रहेको सन्देश विश्वभर पु¥याउनुपर्नेमा उनले जोड दिए।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय, राजनीतिक दल र कर्मचारीतन्त्रलाई आह्वान गर्दै उनले भने, “हामी यसपटक हतियार होइन, मतपत्रको ताकत लिएर सिंहदरबार छिर्नेछौं।”

भ्रष्टाचारविरुद्ध अभियान र कम्युनिष्ट एकता

आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा दलाल र बिचौलियाले सरकारबाट हटाएको आरोप लगाउँदै दाहालले दुई दर्जनभन्दा बढी कम्युनिष्ट शक्तिहरू मिलेर नयाँ एकता बनाएको बताए।

रोल्पाका उम्मेदवार वर्षमान पुनलाई अत्यधिक मतले विजयी गराउन अपील गर्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरे।

दाहालले शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प व्यक्त गरे।