काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन्।
रोल्पा सदरमुकाम लिबाङस्थित टुँडिखेलमा शनिबार उनले २१ फागुनको निर्वाचनका लागि सार्वजनिक अपिल गर्ने कार्यक्रम रहेको छ। चुनावअघि देशभर अन्य ठूला कार्यक्रम नरहेको र रोल्पाबाटै सार्वजनिक सन्देश दिने तयारी गरिएको प्रचण्डको सचिवालयले जनाएको छ।
कार्यक्रमलाई भव्य बनाउन पार्टीले व्यापक तयारी गरेको जिल्ला इन्चार्ज राजबहादुर बुढाले बताएका छन्। उनका अनुसार शनिबार लिबाङमा करिब १५ हजार मानिसले कार्यक्रम प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ।
“नेपाली क्रान्तिका नायक प्रचण्डले रोल्पाबाट चुनावी सम्बोधन गर्नु आफैंमा अर्थपूर्ण हुनेछ,” उनले भने, “निर्णायक अवस्थामा रोल्पाबाटै सम्बोधन गर्नु रोल्पालीप्रतिको सम्मान पनि हो।”
१० वर्षे सशस्त्र युद्धका क्रममा प्रचण्डले अधिकांश समय रोल्पामा बिताएका थिए। हाल उनी रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका छन् भने उनका विश्वासपात्र वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट उम्मेदवार छन्।
लिबाङमा हुने सभालाई प्रचण्डसँगै उम्मेदवार पुन, पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वसभामुख ओनसरी घर्तीमगरलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया