काठमाडौं । काठमाडौं जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेका छन्।
निर्वाचन आयोगका अनुसार प्राप्त उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत उजुरी फर्छ्यौट गरिएको छ। प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी दर्ता भएका छन्।
प्राप्त उजुरीमध्ये ९७ लिखित रूपमा परेका छन् भने ९७९ उजुरी टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए।
आयोगका अनुसार उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल, ब्यानर र झण्डा प्रयोग गरेको सम्बन्धी रहेका छन्।
यसका साथै सामाजिक सञ्जालको दुरुपयोग, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको लगायतका विषयमा पनि उजुरी परेका छन्।
त्यस्तै, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा संलग्न भएको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारीसाधन प्रयोग गरेको लगायतका आचारसंहिता उल्लंघनका उजुरी परेका आयोगले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया