अरविन्द केजरीवाललाई रक्सी नीति भ्रष्टाचार मुद्दामा सफाइ

146 Shares

काठमाडौं । भारतको दिल्ली राज्यका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।

दिल्लीको अदालतले शुक्रबार केजरीवाल, तत्कालीन उपमुख्यमन्त्री मनिष सिसोदियासहित ३२ जनालाई सफाइ दिएको हो।

मुख्यमन्त्री रहेका बेला सन् २०२२ मा लागू गरिएको मदिरा बिक्री नीति मार्फत निजी क्षेत्रका थोक बिक्रेतालाई अनुचित लाभ दिएको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी)ले केजरीवाललाई पक्राउ गरेको थियो।

विशेष न्यायाधीश जितेन्द्र सिंहले फैसला सुनाउँदै केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)को अनुसन्धानमा गम्भीर त्रुटि रहेको टिप्पणी गरेको बीबीसी हिन्दीले जनाएको छ। अदालतले आरोपपत्रमा समावेश सामग्रीहरूले साक्षीको बयानलाई समर्थन नगरेको र भ्रामक दाबी गरिएको उल्लेख गरेको छ।

फैसलापछि पत्रकारसँग कुरा गर्दै केजरीवालले “सत्यको विजय भएको” बताएका छन्। साथै उनले सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी)ले आम आदमी पार्टीलाई समाप्त गर्न राजनीतिक षड्यन्त्र गरेको आरोप पनि लगाएका छन्।