राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले: ‘ब्रह्मलुटको संरचना भत्काएर सुशासनको जग बसाल्छौं’

202 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले बह्रमलुटको संरचना भत्काएर नयाँ सुशासनको जग बसाल्न आफूहरू चुनावमा होमिएको बताएका छन्।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बहुमत दिएर नयाँ संरचना निर्माणमा साथ दिन मतदातालाई आग्रह गरे। ‘ब्रह्मलुटको संरचना भत्काएर नयाँ संरचनाको जग बसाल्न आएका छौं । हामीलाई बहुमत दिनुहोस्,’ उनले भने।

उनले राज्यका हरेक निकाय राजनीतिक कब्जामा परेको आरोप लगाउँदै दोहोनको दलीय सिन्डिकेट खारेज गर्न रास्वपा आएको दाबी गरे। ‘पुराना दलहरू फेरि त्यही संरचना बोकेर आएका छन् । परजीवी संरचना हटेपछि आधा समस्या समाधान हुन्छ,’ उनले उल्लेख गरे।

वाग्लेले सार्वजनिक गरेका प्रमुख योजनाहरू

अर्थतन्त्र र सुशासन

  • ५–७ वर्षभित्र १ सय अर्बको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य।

  • शिक्षकलाई शिक्षणमै र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवामै केन्द्रित गर्ने व्यवस्था।

  • उद्योग र मजदुरका लागि समयमै ज्याला भुक्तानी सुनिश्चित गर्ने प्रतिबद्धता।

किसानका लागि

  • किसानलाई धनी बनाउने आधार तयार गर्ने।

  • कृषिलाई सहयोग पुग्ने व्यापार सम्झौता गर्ने।

  • सम्बन्धित ऐन–कानुन सुधार गर्ने।

निजी क्षेत्रका लागि

  • लगानी सुरक्षाको प्रत्याभूति दिने।

  • राजनीतिक दल र निजी क्षेत्रबीचको ‘अपवित्र साँठगाँठ’ अन्त्य गर्ने।

प्रवासमा रहेका नेपालीका लागि

  • विदेशमा रहेका नेपालीलाई स्वदेश फर्केर लगानी गर्ने वातावरण बनाउने।

  • जहाँ रहे पनि त्यहींबाट लगानी गर्न सक्ने व्यवस्था गर्ने।

  • स्वाभिमान र बलियो राष्ट्र निर्माणमा सबैलाई सहभागी गराउने।

वाग्लेले मतदातालाई भ्रम र डरबाट प्रभावित नहुन आग्रह गर्दै रास्वपालाई समर्थन गर्न अपिल गरे।