नेपाली कांग्रेसका विमलेन्द्र निधीको प्रतिबद्धता: स्वास्थ्य, कृषि र खेलकुद प्राथमिकतामा

155 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं धनुषा–३ का उम्मेदवार विमलेन्द्र निधीले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि स्वास्थ्य, कृषि र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू सार्वजनिक गर्नुभएको छ।

चुनावी अभियानका क्रममा शुक्रबार बोल्दै नेता निधीले जनकपुर उपमहानगरपालिका बाहेकका अन्य तीन पालिकामा महिला तथा बालबालिकाका लागि विशेष स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गर्नुभयो। जनकपुरमा धेरै अस्पताल सञ्चालनमा रहे पनि दक्षिणतर्फका पालिकाहरूमा स्वास्थ्य सेवा अभाव रहेको उल्लेख गर्दै उनले तीन वटा प्रसूति अस्पताल र तीन वटा बाल अस्पताल निर्माण गर्ने लक्ष्य राखेको बताउनुभयो।

मधेश प्रदेश कृषि प्रधान क्षेत्र भए पनि किसानले सधैं मल अभाव झेल्नुपरेको उल्लेख गर्दै निधीले नेपालमै मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, नरेन्द्र मोदीले घोषणा गरेको १ सय करोड रुपैयाँ अनुदानलाई रङ्गशाला निर्माणमा खर्च गर्ने गरी समन्वय भइरहेको र त्यसका लागि जग्गाको लालपूर्जा समेत बनिसकेको जानकारी दिनुभयो।

जनकपुरमा जलन (बर्न) अस्पतालको अभाव रहेको औंल्याउँदै उनले सुविधासम्पन्न बर्न अस्पताल निर्माण गर्ने योजना पनि अघि सारे। आफ्ना योजना र प्रणाली कार्यान्वयनप्रति प्रतिबद्ध रहेको बताउँदै निधीले मतदाताहरूलाई आफूलाई मतदान गर्न अपिल गर्नुभयो।