काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानविरुद्ध ‘खुला युद्ध’को घोषणा गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत जारी वक्तव्यमा उनले अफगान तालिवानलाई चेतावनी दिँदै पाकिस्तानको धैर्य समाप्त भइसकेको बताएका हुन्।
BBC Urduका अनुसार आसिफले अफगानिस्तानमा विश्वभरबाट आतंकवादीहरूलाई एकत्रित गराइएको आरोप लगाएका छन्। उनले काबुलस्थित अन्तरिम सरकारले आतंकवाद निर्यात गरेको दाबी समेत गरेका छन्।
उता, अफगानिस्तानमा तालिवान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानद्वारा काबुल, पक्तिका र कन्धारका केही स्थानमा बमबारी भएको पुष्टि गरेका छन्। उनका अनुसार आक्रमणबाट कुनै हताहती नभएको दाबी गरिएको छ।
पाकिस्तानी सूचनामन्त्री अताउल्लाह तरारले एक्समार्फत अफगानिस्तानका विभिन्न सैन्य संरचनालाई निशाना बनाइएको बताएका छन्। उनले दुई कोर मुख्यालय, दुई हतियार डिपो, एक लजिस्टिक्स गोदाम, तीन बटालियन मुख्यालय, दुई सेक्टर मुख्यालय र ८० भन्दा बढी ट्यांक नष्ट गरिएको दाबी गरेका छन्।
यद्यपि, BBC Hindiले ती दाबीहरूको स्वतन्त्र पुष्टि हुन नसकेको जनाएको छ।
काबुलमा विष्फोटको आवाज
समाचार एजेन्सी Agence France-Presse (एएफपी) का अनुसार बिहानै अफगानिस्तानको राजधानी काबुलमा ठूलो विष्फोटको आवाज सुनिएको थियो। राति करिब १ः५० बजे लडाकु विमानको आवाजसँगै विष्फोट भएको र बिहान २ः३० बजेसम्म गोली चलेको आवाज सुनिएको बताइएको छ।
एकअर्कामाथि आरोप–प्रत्यारोप
पाकिस्तानी र अफगान सेना एक–अर्कामाथि पहिले आक्रमण गरेको आरोप लगाउँदै आएका छन्। अफगान तालिवानका सैन्य प्रवक्ता वहिदुल्लाह मोहम्मदीले जवाफी अपरेशन स्थानीय समयअनुसार राति ८ बजेदेखि सुरु गरिएको बताएका छन्।
अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजईले काबुल, कन्धार र पक्तिकामा भएको पाकिस्तानी आक्रमणको निन्दा गरेका छन्। उनले अफगान नागरिकहरू एकताबद्ध भएर आफ्नो भूमिको रक्षा गर्ने बताएका छन्।
टीटीपी विवाद र बढ्दो तनाव
पाकिस्तान लामो समयदेखि अफगान तालिवान सरकारसँग प्रतिबन्धित तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) विरुद्ध कडा कारबाहीको माग गर्दै आएको छ। यही विषयलाई लिएर दुई देशबीच गत वर्ष अक्टोबरदेखि तनाव चर्कँदै आएको छ।
अक्टोबर २०२५ मा दुवै देश युद्धविरामका लागि सहमत भए पनि पछिल्ला घटनाक्रमले पुनः संघर्ष चर्किएको संकेत गरेका छन्।
दुवै पक्षले एक–अर्कालाई ठूलो क्षति पुर्याएको दाबी गरिरहे पनि स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। सीमा क्षेत्रमा अवस्था तनावपूर्ण नै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया