राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र: संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

163 Shares

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ। बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो।

भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो। बिहानीपख मस्त निद्रामा रहेका स्थानीयवासी धक्का महसुस भएपछि आत्तिँदै घर बाहिर निस्किएका थिए।

प्रारम्भिक सूचना अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै जानकारी प्राप्त नभएको सम्बन्धित जिल्लाका सुरक्षा अधिकारीहरूले जनाएका छन्।