निर्वाचनका लागि २ लाख १५ हजार कर्मचारी परिचालन, १६५ वटै क्षेत्रमा मतपत्र पुग्यो

143 Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न देशभर २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको जनाएको छ।

विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग गरिएको छलफलमा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक कर्मचारी फिल्डमा खटाइएको जानकारी दिनुभयो।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन १० लाख नमूना मतपत्रसहित ६ हजार ७ सय ४३ वडास्तरीय स्वयंसेवक १५ दिनका लागि परिचालन गरिएको पनि उहाँले बताउनुभयो।

आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि देशका सबै १६५ निर्वाचन क्षेत्रमा समानुपातिक र प्रत्यक्षतर्फका मतपत्र सुरक्षित रूपमा पुगिसकेको जनाएको छ। मुद्रण अधिकृत बाबुराम कोईरालाका अनुसार कार्यतालिकाअनुसार नै मतपत्र छपाई र ढुवानी कार्य सम्पन्न गरिएको हो।

समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार गरी कुल ४ करोड ११ लाख ५३ हजार मतपत्र छपाई तथा ढुवानी गरिएको आयोगले जनाएको छ।

यस पटकको निर्वाचनमा कुल १ करोड ७९ लाख मतदाता सहभागी हुने जानकारी दिँदै आयोगले कुल मतदातामध्ये ४९ प्रतिशत महिला र ५१ प्रतिशत पुरुष रहेको जनाएको छ। साथै, विदेशी पत्रकार र पर्यवेक्षकहरूका लागि विशेष सुरक्षा व्यवस्था र आवश्यक पास उपलब्ध गराइने पनि आयोगले स्पष्ट पारेको छ।