राष्ट्रको स्वाधीनता जोगाउने ‘अग्निपरीक्षा’ हो निर्वाचन : पुष्पकमल दाहाल

164 Shares

काठमाडौं । पुष्पकमल दाहालले फागुन २१ गते हुने निर्वाचन राष्ट्रको स्वाधीनता र परिवर्तनको रक्षा गर्ने महत्वपूर्ण कडी भएको बताएका छन्।

पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालले देशमा देखिएका दुई अतिवादी प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे। उहाँका अनुसार वर्तमान निर्वाचन नियमित प्रक्रिया नभई देशको असहज परिस्थितिले निम्त्याएको राजनीतिक निकास हो। जेन–जी आन्दोलनका क्रममा भएका घटनाक्रम र पछिल्लो राजनीतिक उतारचढावलाई हेर्दा निर्वाचन नै तुलनात्मक रूपमा सहज विकल्प भएको उहाँको तर्क छ।

दाहालले नेपाली राजनीतिमा दुईवटा अतिवादी प्रवृत्ति सक्रिय रहेको दाबी गरे—एकातर्फ शान्तिपूर्ण प्रदर्शनमा दमन र हिंसाको प्रवृत्ति, अर्कोतर्फ आन्दोलनभित्र घुसपैठ गरी राष्ट्रिय धरोहर र पार्टी कार्यालयमा आगजनी गर्ने विध्वंशकारी गतिविधि। “हामी यी दुवै अतिवादका विरुद्ध राष्ट्रिय एकता र स्वाधीनताको पक्षमा छौँ,” उनले भने।

गठबन्धनको चर्चा अस्वीकार

दाहालले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चित ‘महा–गठबन्धन’को सम्भावनालाई पूर्ण रूपमा खारेज गरे। “हामी कसैसँग समीकरणमा छैनौँ। कुनै गठबन्धन वा सिट बाँडफाँडको छलफल भएको छैन। आफ्नै एजेन्डा र जनताको बलमा निर्वाचनमा जाँदैछौँ,” उनले स्पष्ट पारे। बाग्लुङमा जनमोर्चासँग भएको एउटा सिट तालमेलबाहेक अन्यत्र कुनै सहकार्य नभएको पनि बताए।

स्वच्छ निर्वाचनमा जोड

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय, कर्मचारीतन्त्र र निर्वाचन आयोग नेपालको ठूलो जिम्मेवारी रहेको दाहालले औँल्याए। “यो निर्वाचन राष्ट्र बचाउने कि नबचाउने भन्ने अग्निपरीक्षा हो,” उनले भने।

पहिलो पार्टी बन्ने लक्ष्य

संयोजक दाहालले प्रत्यक्षतर्फ ६०–७० सिट र समानुपातिकसहित ९०–१०० सिट जितेर पहिलो पार्टी बन्ने लक्ष्य लिएको बताए। यद्यपि, परिणाम जे आए पनि स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार यस पटकको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले)राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुनेछ। स्पष्ट बहुमत आउन कठिन हुने र फेरि त्रिशंकु संसद बन्न सक्ने आँकलन पनि उनले गरे।

कृषि, उद्योग, पर्यटन र ऊर्जा क्षेत्रमा गुणात्मक विकासमार्फत रोजगारी सिर्जना गर्ने, भ्रष्टाचार नियन्त्रण र सामाजिक विभेद अन्त्यका लागि संविधान संशोधनमा नेतृत्वदायी भूमिका खेल्ने संकल्प समेत दाहालले व्यक्त गरे।