जेनजी आन्दोलनमा गोली चलाउने आदेश तत्कालीन आईजीपीबाट आएको बीबीसीको दाबी

149 Shares

काठमाडाैं । गत भदौ २३ गते नेपालमा भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले आदेश दिएको BBC World Service को एक अनुसन्धानले दाबी गरेको छ ।

बीबीसीको टोलीले उक्त दिनको घटनाक्रम समेटिएको प्रहरीको आन्तरिक कागजात फेला पारेको उल्लेख गरेको छ । सो कागजातअनुसार ‘पिटर १’ कल साइन प्रयोग गर्ने व्यक्तिले कर्फ्यू लागू भएको १० मिनेटपछि आफ्ना मातहतका अधिकारीहरूलाई “आवश्यक बल प्रयोग गर्न” आदेश दिएको देखिन्छ । प्रहरी संचार प्रणालीमा ‘पिटर १’ कल साइन प्रहरी महानिरीक्षक (आईजीपी) का लागि प्रयोग हुने जनाइएको छ । फिल्डमा रहेका अधिकारीहरूले पटक–पटक गोली चलाउन अनुमति मागेपछि उक्त आदेश दिइएको बीबीसीको दाबी छ ।

भदौ २३ गते काठमाडौंमा मारिएका १९ जनामध्ये विद्यालय पोशाकमा रहेका एक किशोर पनि थिए । उनी भीडबाट फर्किंदै गर्दा टाउकोको पछाडि गोली लागेको उल्लेख गरिएको छ । बीबीसीले ४ हजारभन्दा बढी भिडियो तथा तस्वीरहरूको विश्लेषण गरेर घटनाको सिलसिलेवार विवरण तयार पारेको जनाएको छ ।

जेन–जी भनेर चिनिने युवा पुस्ताको प्रदर्शनमा गोली चलेपछि आन्दोलन थप चर्किएको थियो । त्यसको भोलिपल्ट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले राजीनामा दिनुभएको थियो । त्यसपछि प्रदर्शनकारीहरूले संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवनलगायत संरचनामा आगजनी तथा तोडफोड गरेका थिए ।

भदौ २३ को घटनाबारे पूर्वन्यायाधीश गौरिबहादुर कार्की नेतृत्वको छानबिन आयोगले अनुसन्धान गरिरहेको छ । आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन ।

उक्त प्रकरणमा हालसम्म कसैविरुद्ध कारबाही नभएको जनाइएको छ ।