पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

161 Shares

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखा का अनुसार बिहीबार बिहान देशका पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि आंशिक बदली रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा भइरहेको जनाइएको छ । तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार बिहीबार दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । ती क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

बिहीबार राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ । देशका हिमाली भू-भागमा सामान्य बदली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।