काठमाडाैं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्य पदबाट पदमुक्त भएका छन् । उनी पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध भएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।
पार्टीले निष्कासनको जानकारी प्रदेश सभामा गराएपछि प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गर्दै उनको सांसद पद स्वतः समाप्त भएको जनाएको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार निर्वाचित दलले निष्कासन गरेपछि सम्बन्धित सदस्यको पद कायम रहँदैन ।
शर्मा २०७९ सालको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट रुकुम (पश्चिम)–१ ‘ख’ बाट निर्वाचित भएका थिए । पूर्वमुख्यमन्त्रीसमेत रहेका उनी २०७९ पुस २७ देखि २०८० चैत २१ सम्म मुख्यमन्त्री पदमा रहेका थिए ।
४० सदस्यीय प्रदेश सभामा अब ३९ सदस्य कायम रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया