काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाही–४ मा चुनावी माहोल तातेको छ। बुधबार सो क्षेत्रमा पुगेर लामिछानेले चुनावी सभालाई सम्बोधन गरेका हुन्।
उक्त क्षेत्रमा गगन थापा उम्मेदवार रहेका छन्। यसअघि दुई पटक कांग्रेस र एकपटक स्वतन्त्र रूपमा जितेका अमरेशकुमार सिंह लाई रास्वपाले थापाविरुद्ध उठाएको छ। यही कारण सर्लाही–४ यसपटकको निर्वाचनको ‘हटसिट’ क्षेत्र बनेको छ।
लामिछानेले सम्बोधनका क्रममा नामै नलिई थापामाथि कटाक्ष गर्दै “काठमाडौंबाट कोही आएर मधेशको बेटा हुँ भन्दै ठाउँ लिन खोजिएको” टिप्पणी गरे।
उनले भने,
“मलाई थाहा छ अमरेश जी जित्नुहुन्छ। तर यदि उहाँ नभए पनि मधेशकै मान्छे जित्थ्यो। काठमाडौंबाट आएर मधेशको बेटा हुँ भन्ने प्रयासलाई यसपटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईँहरूको हो।”
लामिछानेले अब मधेश–पहाड, हिमाल–तराईको नारामा भोट माग्ने राजनीति बन्द गर्नुपर्ने बताए।
“अब पहाडी र मधेशी भनेर होइन, देशलाई न्याय दिनेगरी नेपालको कुरा गर्ने हो,” उनले भने।
उनले आफूले विगतमा सर्लाहीका मुद्दामा आवाज उठाएको दाबी गर्दै यसपटक मतदातासँग सहयोग मागे।
“हिजो सर्लाहीलाई अन्याय पर्दा म उभिएको हुँ। यसपटक अलिकति न्याय मलाई चाहिएको छ,” उनले भने।
सर्लाही–४ मा बहुचर्चित प्रतिस्पर्धाका कारण यस क्षेत्रको चुनावी परिणामलाई राष्ट्रिय राजनीतिले चासोका साथ हेरिरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया