प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ लिइन्

157 Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तयारी र सुरक्षा अवस्थाबारे सबै सुरक्षा निकायका प्रमुखहरूसँग मंगलबार ब्रिफिङ लिइन्।

ब्रिफिङ बालुवाटारमा सम्पन्न भएको थियो, जहाँ सुरक्षा निकायहरूले आ–आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए। स्रोतका अनुसार अहिलेसम्म कुनै ठूलो सुरक्षा चुनौती देखिएको छैन।

प्रधानमन्त्री कार्कीले ब्रिफिङपछि निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको र सम्भावित चुनौतीका विषयमा सतर्क रहन निर्देशन दिएकी थिइन्।

सुरक्षा तयारीको मुख्य विवरण

  • नेपाली सेना ले देशभर २७५ ठाउँमा बम डिस्पोजल टोली राख्ने, स्ट्यान्डबाई हेलिकप्टर तयारी, र मतदान सामग्री ढुवानीसम्बन्धी जानकारी प्रस्तुत गरेको छ।

  • अहिलेसम्म सेनाले १३ ठाउँमा शंकास्पद वस्तु डिस्पोज गरेको छ।

  • मुख्य चुनौतीको रूपमा सामाजिक सञ्जालमा फैलिने अफवाह, मिसइन्फरमेशन र डिसइन्फरमेशन रहेको सुरक्षा निकायको ब्रिफिङमा उल्लेख छ।

सुरक्षा व्यवस्थापन

  • आवश्यक परे थप टोली ३०–९० मिनेटभित्र परिचालन गर्न सकिने व्यवस्था।

  • हरेक दिन गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने र दैनिक समीक्षा गर्ने प्रबन्ध।

  • हरेक प्रदेशमा एक एआईजी र गृह मन्त्रालयबाट एक सहसचिवले सुरक्षा निगरानी गर्ने।

  • शंकास्पद मत खसेका ठाउँमा विशेष निगरानी, पूर्व परिचालित कर्मचारीलाई फेरि नखटाउने, र गल्ती भए कारबाही गर्ने व्यवस्था।

  • सम्भावित झडप रोक्न हरेक उम्मेदवारका प्रतिनिधिसँग जिल्ला सुरक्षा समितिसँग कनेक्सन बनाउने र फरक पार्टीका उम्मेदवारहरूको घरदैलो कार्यक्रमको रुट छुट्टयाउने तयारी।

प्रधानमन्त्री कार्कीले व्यक्तिगत अनुभवको उदाहरण दिँदै सामाजिक सञ्जालमा फैलिएका गलत सूचना र अफवाहप्रति सबैलाई सजग रहन निर्देशन दिइन्।