फागुन २१ को चुनाव नजिकिँदै: प्रचारमा अवरोध गरे २ लाख जरिवाना वा तीन वर्षसम्म कैद

153 Shares

काठमाडौं । जेनजी आन्दोलनपछि यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ८ दिन मात्र बाँकी रहेको छ।

निर्वाचन आयोग ले फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा अवरोध गरेको पाइएमा २ लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ। संघीय कानून बमोजिम निर्वाचन प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा–अवरोध पुर्‍याउने, थुनछेक गर्ने वा गराउने कार्य गरेमा २ लाख रुपैयाँ जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसार गतिविधि आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख गरेको छ। केही राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारमा अन्य दल, उम्मेदवार, दलका कार्यकर्ता वा सर्वसाधारणबाट अवरोध सिर्जना भएको गुनासो तथा उजुरी प्राप्त भएको आयोगले जनाएको छ। साथै विभिन्न सञ्चारमाध्यमबाट समेत यस्ता घटनाबारे जानकारी आएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्वाचन आचारसंहिता जारी भइसकेको छ। सो आचारसंहिताअनुसार कुनै राजनीतिक दल, उम्मेदवार वा तिनका भातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा–अवरोध पुर्‍याउन नहुने स्पष्ट व्यवस्था गरिएको छ।