काठमाडौं । विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र सुशासनका लागि पाँच वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन प्रणाली आवश्यक रहेको बताएका छन्।
मोरङ निर्वाचन क्षेत्र नं. ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका उपसभापति शर्माले अब देशलाई नयाँ भिजन र स्पष्ट मार्गचित्रसहित अघि बढाउने उद्घोष गरे। उनले पछिल्लो समय काँग्रेसप्रति जनलहर सिर्जना भएको दाबी गर्दै विभिन्न दलका प्रभावशाली नेताहरू पार्टीमा प्रवेश गरिरहेको जानकारी दिए।
उनका अनुसार रामवीर मानन्धर (नेकपा एमालेका नेता तथा पूर्वमन्त्री), ममता शर्मा (राष्ट्रिय स्वतन्त्र पार्टी, मधेश प्रदेश सभापति) र भरत पराजुली (रास्वपा जिल्ला सभापति) लगायत नेताहरू काँग्रेसमा प्रवेश गरेका छन्। “एमालेमा ३५ वर्ष बिताएका र मन्त्री भइसकेका रामवीर मानन्धरदेखि रास्वपाको सिङ्गै प्रदेश कमाण्ड गर्ने ममता शर्मासम्मले रुख चिन्ह रोज्नु काँग्रेसको बढ्दो आकर्षणको संकेत हो,” उनले भने।
शर्माले पटक–पटक सरकार परिवर्तन हुँदा विकास प्रक्रिया अवरुद्ध भएको उल्लेख गर्दै पाँच वर्ष टिक्ने प्रधानमन्त्रीको पद्धतिबारे गम्भीर बहस हुनुपर्ने प्रस्ताव राखे। “निर्वाचनलाई युद्धको मैदान नभई परख गर्ने थलो बनाऔँ,” उनले भने।
भ्रष्टाचार नियन्त्रणमा काँग्रेस कठोर रहने स्पष्ट पार्दै उनले मन्त्री, प्रधानमन्त्री वा वडाध्यक्ष जोसुकै भए पनि भ्रष्टाचार मुद्दा दर्ता हुनासाथ साधारण सदस्यबाट निष्कासन गरिने नीति अपनाइने बताए। निर्दोष प्रमाणित भए पुनः फर्किने बाटो खुला रहने तर दोषीलाई कुनै छुट नहुने उनको भनाइ थियो।
विदेशिएका नेपालीलाई विकासमा जोड्न काँग्रेसले ‘जीडीपीपी’ अवधारणा अघि सारेको शर्माले बताए। १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा अगाडि बढाउँदै डायस्पोराको लगानी सुनिश्चित गर्ने योजना रहेको उनले सुनाए।
“युवालाई नाराले होइन, भिजनले रोक्नुपर्छ,” उनले भने, “बूढीगण्डकीबाट उत्पादन हुने बिजुली मात्र होइन, माछापालन, पर्यटन, सिँचाइ र खानेपानी क्षेत्रमा समेत ठूलो सम्भावना छ।”
शर्माले मोरङ–३ का उम्मेदवार डा. सुनिल शर्मालाई भारी मतले विजयी गराउन अपिल गरे। डा. शर्मालाई ‘गरिबीको गहिराइबाट उठेर हजारौँको जीवन बचाएको सक्षम युवा’ भन्दै उनले समर्थन जनाए।
प्रत्येक कार्यकर्तालाई आफ्नो वडाको जिम्मेवारी लिन आग्रह गर्दै उनले ‘मेरो वडा म जिताउँछु’ अभियान चलाउन निर्देशन दिए। “व्यक्ति मात्र होइन, काँग्रेसको भिजन जिताउनुपर्छ,” उनले भने, “२५ गते बिहान सुनिल शर्मा विजयी भएको खबर नै यस क्षेत्रको समुन्नतिको सुरुवात हुनेछ।”
कार्यक्रममा उनले विपक्षीप्रति मर्यादित व्यवहार गर्न र मतदाताको मन जितेर परिणाम निकाल्न कार्यकर्तालाई प्रेरित गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया