अमेरिकाको भर्जिनियामा पारिवारिक हत्या काण्ड : उदयपुरका तीन जनाको ज्यान गयो

169 Shares

काठमाडौं । अमेरिकाको Virginia राज्यमा सोमबार भएको पारिवारिक हत्या काण्डमा ज्यान गुमाउने तीनै जना उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारका बासिन्दा रहेको खुलेको छ।

प्राप्त जानकारीअनुसार छोरीको घर गएका छत्रबहादुर थापा क्षेत्रीले आफ्नी श्रीमती विमला थापा र छोरी ममता थापा बस्नेतको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। घटनापछि उनलाई नियन्त्रणमा लिन अमेरिकी प्रहरीले आत्मसमर्पणका लागि आग्रह गर्दा नमानेपछि गोली चलाइएको थियो। गोली लागेर छत्रबहादुरको पनि मृत्यु भएको जनाइएको छ।

छत्रबहादुरको आक्रमणबाट ज्वाइँ सन्तोष बस्नेत घाइते भएका छन्। डेढ वर्षीया नातिनी भने सकुशल रहेको बताइएको छ।

स्थानीय जयराम मगरका अनुसार थापा दम्पती गत कार्तिक महिनामा छोरी–ज्वाइँको बोलावटमा अमेरिका गएका थिए। छत्रबहादुर मानसिक रोगबाट पीडित रहेको र उनको उपचारसमेत भइरहेको बताइएको छ। उनले सुरुमा श्रीमती विमलामाथि आक्रमण गरेका थिए भने रोक्न पुगेकी छोरी ममतामाथि पनि धारिलो हतियार प्रहार गरेका थिए।

परिवारका तीन सदस्यको ज्यान गएको दुःखद घटनापछि रामपुरस्थित उनको घरमा शोकको वातावरण छाएको छ। छत्रबहादुरका उदयपुरस्थित घरमा एक छोरा र अर्की छोरी रहेका छन्।