काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण सात निर्णय गरेको छ ।
बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि ४० लाख अमेरिकी डलर बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त सहयोग स्वीकार गरिएको जनाइएको छ ।
यस्तै, चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रमअनुसार बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
त्यसैगरी, काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा. दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्ले बीमा ऐन २०७९को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई तोक्ने निर्णय पनि गरेको छ ।
यसैगरी, आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म लागू हुने सार्वजनिक बिदा निर्धारण गर्ने तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय पनि बैठकले गरेको छ ।
मन्त्रिपरिषद्को सातौँ निर्णय ‘जेनजी परिषद’ गठनसम्बन्धी रहेको जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया