निष्पक्ष र उत्तरदायी बन्न प्रेस काउन्सिलको आग्रह, मत प्रभावित गर्ने सामग्रीप्रति आपत्ति

160 Shares

काठमाडौं ।
प्रेस काउन्सिल नेपाल ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा आमसञ्चारमाध्यमलाई पूर्ण रूपमा निष्पक्ष र उत्तरदायी बन्न आग्रह गरेको छ।

देशभरका सञ्चारमाध्यमको नियमित अनुगमन गर्दै आएको काउन्सिलले विगतझैं प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पनि पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा विशेष निगरानी गरिरहेको जनाएको छ।

काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यमले ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ जस्ता शीर्षकमा मत सर्वेक्षणको शैलीमा राजनीतिक दल र उम्मेदवारको नाम किटान गरी मत प्रभावित पार्ने सामग्री सम्प्रेषण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘यो उम्मेदवार जित्नेछन्’, ‘यो उम्मेदवार धेरै अगाडि’, ‘नयाँतिर आकर्षित’, ‘यसको लहर छ, यसको छैन’, ‘डेन्जर जोनमा’ जस्ता अभिव्यक्तिले आममतदातालाई दिग्भ्रमित पार्ने र नागरिकको मनोभावनामा असर पार्ने सामग्री प्रकाशित भएको भन्दै काउन्सिलले आपत्ति जनाएको छ। त्यस्ता सामग्रीले स्वच्छ र निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने भन्दै आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई नोटिसमा राखिएको स्पष्ट पारिएको छ।

काउन्सिलका सहप्रवक्ता रामशरण बोहरा ले प्रेस स्वतन्त्रताको नाममा सम्प्रेषित सामग्रीले कसैलाई लाभ वा हानि पुग्न सक्ने भएकाले पत्रकारिता जस्तो महत्त्वपूर्ण पेशामा आबद्ध सञ्चारमाध्यम तथा पत्रकार थप मर्यादित, जिम्मेवार र उत्तरदायी बन्नुपर्ने बताएका छन्।

निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायसँगै सञ्चार जगतको पनि विशेष भूमिका रहने उल्लेख गर्दै काउन्सिलले स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न आग्रह गरेको छ। साथै, आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्दै मत प्रभावित गर्ने खालका सामग्री सम्प्रेषण नगर्न/नगराउन समेत काउन्सिलले ध्यानाकर्षण गराएको छ।