बालबालिकालाई चुनावी प्रचारमा प्रयोग नगर्न आयोगको आह्वान, उल्लङ्घन गरे कारबाही हुने

135 Shares

काठमाडौं । जेनजी आन्दोलनपछि यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ९ दिन मात्र बाँकी रहेको छ।

यसैबीच, निर्वाचन आयोग ले सो निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारलाई प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग नगर्न आह्वान गरेको छ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा दल तथा उम्मेदवारले आफ्नो झण्डा वा चुनाव चिह्न बोक्ने कार्य, सांस्कृतिक कार्यक्रम, र्‍याली तथा अन्य चुनावी गतिविधिमा बालबालिकालाई सहभागी नगराउन आग्रह गरिएको छ।

चुनावी अभियानका क्रममा बालबालिका प्रयोग गरिएको, विद्यालय समयमा विद्यालय नजिकै चुनावी कार्यक्रम आयोजना गर्दा शैक्षिक गतिविधिमा अवरोध पुगेको भन्दै उजुरी तथा गुनासो प्राप्त भएको आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता २०८२ को दफा १३ उपदफा (१०) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ स्पष्ट व्यवस्था रहेको छ।

आचारसंहिता उल्लङ्घन गरेमा १ लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सकिने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।