पश्चिमी वायुको आंशिक प्रभाव : पहाडी–हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

123 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।

मंगलबार बिहान कर्णाली प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी लगायतका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मंगलबार राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।