कञ्चनवनमा मिथिला मध्यमा परिक्रमाको डोला आगमन, परम्परागत होली महोत्सव सुरु

133 Shares

काठमाडौं । महोत्तरीको कञ्चनवनमा मिथिला मध्यमा परिक्रमाको डोला आइपुगेको छ । फागुन शुक्ल प्रतिपदाबाट सुरु भएको १५ दिने ऐतिहासिक धार्मिक पदयात्रा सप्तमी तिथिमा कञ्चनवन पुगेपछि यहाँ परम्परागत रूपमा होली महोत्सव प्रारम्भ भएको हो ।

भगवान राम (मिथिला विहारी) र माता सीता (किशोरीजी) का प्रतिमा सजिएका डोलाहरू हजारौं श्रद्धालु, साधुसन्त र महात्माहरूको लावालस्करसहित कञ्चनवन प्रवेश गरेका छन् । डोलासँगै भजन–कीर्तन, शंखध्वनि र अबिरको रौनकले क्षेत्र रंगिएको छ ।

जनविश्वासअनुसार त्रेता युगमा भगवान राम र सीताले यही कञ्चनवनमा रङ–अबिर खेल्दै होली मनाएका थिए । सोही स्मृतिमा डोला यहाँ बिसाइएपछि परिक्रमा सहभागीहरूले एकअर्कालाई अबिर दलेर होली खेल्ने परम्परा जीवित छ ।

संस्कृतिविदहरूका अनुसार कञ्चनवनको होली मिथिलाञ्चलको सबैभन्दा पुरानो र विशेष उत्सवमध्ये एक मानिन्छ । यहाँ मठमन्दिरका महन्थ, सामाजिक अगुवा तथा सांस्कृतिक–राजनीतिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहने गरेको छ ।

परिक्रमा यात्रा हनुमानगढी (धनुषा)बाट सुरु भई भारतको कल्याणेश्वर र गिरिजास्थान हुँदै महोत्तरीका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड पार गर्दै कञ्चनवन आइपुगेको हो ।

कञ्चनवनमा होली उत्सव सम्पन्न गरेपछि यात्रा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः जनकपुरधाम फर्केर फागुन पूर्णिमामा समापन हुने परम्परा छ ।

धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र सामुदायिक सद्भावको प्रतीक मानिने यो परिक्रमा प्रत्येक वर्ष मिथिलाञ्चलमा विशेष उत्साहका साथ मनाइन्छ ।