काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान भएको भीषण बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालका अनुसार पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।
दुर्घटनामा परेका अधिकांशको घटनास्थलमै ज्यान गएको थियो भने केहीको उपचारका क्रममा मृत्यु भएको हो । मृतकमध्ये ९ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत भएकामा एक जना २४ वर्षीय बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथन पनि छन् ।
अन्य सनाखत भएका मृतकहरू यस प्रकार छन् :
विवेक बास्तोला, ४० वर्ष, पोखरा
चन्द्रबहादुर कुँवर, ६३ वर्ष, स्याङ्जा
ओमकुमार मल्ल, ४० वर्ष, तनहुँ
इन्जिनियर ठकुरी, ३० वर्ष, धादिङ
विष्णुमाया ढकाल, ५५ वर्ष, तनहुँ
लोप्साङ गोले, ४२ वर्ष, काठमाडौं
हरिप्रसाद सिग्देल, ४५ वर्ष, तनहुँ
नविन्द्र श्रेष्ठ, ५५ वर्ष, पाल्पा
बाँकी मृतकहरूको पहिचान हुन बाँकी छ । प्रहरीका अनुसार एक जनाको दाहिने हातको नाडीमा रोहित लेखिएको र अर्काको नाडीमा चमेरो तथा गितारको ट्याटु रहेको छ । यी विवरणका आधारमा परिवारजनले पहिचान गर्न सक्ने आशा गरिएको छ ।
दुर्घटनामा घाइते भएका १४ जनाको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यस्तै, १० जनाको कलंकीस्थित नेसनल मेडिकल कलेज तथा एक जना न्यूजिल्यान्डकी नागरिक मेरी इभाडेको शिक्षण अस्पतालमा उपचार जारी छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया