काठमाडौं: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाको उपचारका लागि ठूलो अस्पताल जहाज पठाएको घोषणा गरेका छन्।
यस कदमलाई उनले मानवीय सहायता भने पनि यसले डेनमार्कसँगको कूटनीतिक तनाव थप बढाउने देखिएको छ। ट्रम्पले सामाजिक सञ्जाल Truth Socialमार्फत ग्रिनल्याण्डमा धेरै मानिस बिरामी परेको र पर्याप्त उपचार सुविधा नभएको दाबी गरेका छन्।
यो अभियान लुजियानाका गभर्नर तथा ग्रिनल्याण्डका लागि अमेरिकी विशेष दूत जेफ ल्यान्ड्रीसँगको समन्वयमा अघि बढाइएको जनाइएको छ।
सन् २०२५ अन्त्यदेखि ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने इच्छा व्यक्त गर्दै आएका छन्। यसअघि उनले ग्रिनल्याण्ड नदिए डेनमार्कमाथि भारी भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए।
डेनमार्क र ग्रिनल्याण्डका अधिकारीहरूले भने “ग्रिनल्याण्ड बिक्रीका लागि होइन” भन्दै प्रस्ताव अस्वीकार गर्दै आएका छन्। अमेरिकी जहाज कुन आधारमा पठाइएको हो र अनुमति लिइएको छ वा छैन भन्नेबारे डेनमार्कले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
विज्ञहरूले यसलाई ग्रिनल्याण्डमा अमेरिकी प्रभाव बढाउने ‘सफ्ट पावर’ रणनीतिको रूपमा व्याख्या गरेका छन्। सन् २०२६ को सुरुवातमै ट्रम्पले ग्रिनल्याण्ड नियन्त्रणका लागि बल प्रयोग गर्न सक्ने संकेत दिएपछि NATO सहयोगी राष्ट्रहरूबीच चिन्ता बढेको बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया