काठमाडौं । निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर मतको प्रतिशत घटाउने उद्देश्यसहित निर्वाचन आयोग ले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ । आम नागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिन आयोगले स्वीकृत कार्ययोजना अनुसार कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
आयोगका अनुसार यही फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ । ती स्वयंसेवकले बस्ती–बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको प्रयोगमार्फत मतदान गर्ने तरिका, सही रूपमा मत संकेत गर्ने विधि तथा मत बदर हुन नदिने उपायबारे जानकारी दिइरहेका छन् ।
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन आयोगले यसअघि स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिलाई नै अनुगमनकर्ताको जिम्मेवारी दिएको छ । उनीहरूका लागि अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको आयोगले जनाएको छ । आयोगका अनुसार यस कदमले कार्यक्रमको पारदर्शिता र प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ ।
आचारसंहिता उल्लङ्घनमाथि कडा निगरानी
निर्वाचन आचारसंहिता उल्लङ्घन हुनेगरी मिथ्या, भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाउने कार्यमाथि पनि आयोगले कडा निगरानी गरिरहेको छ । आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा क्रियाशील रहेको बताइएको छ ।
हानिकारक सूचना उत्पादन तथा सम्प्रेषण गर्ने २९० कन्टेन्ट उत्पादक र सम्प्रेषकविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरो मा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि उजुरी दर्ता गरिएको छ । यस्तै, ११ वटा विषयलाई नेपाल दूरसञ्चार प्राधिकरण मा दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाहीका लागि पठाइएको छ ।
त्यसैगरी, ६५ वटा विषयमा प्रेस काउन्सिल नेपाल मा प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि सिफारिस गरिएको छ भने एक विषय विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ ।
आयोगले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउन सबै सरोकारवालालाई आचारसंहिता पालना गर्न तथा मतदाता शिक्षा कार्यक्रमलाई सहयोग गर्न आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया