नेपाल र भारतका सुरक्षा अधिकारीहरूको संयुक्त सीमा समन्वय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनभन्दा ७२ घण्टा अगाडिदेखि दुई देशबीचको सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकीमा सम्पन्न बैठकले निर्वाचन अवधिमा हुन सक्ने क्रस–बोर्डर अपराध नियन्त्रणका लागि सतर्कता बढाउने सहमति गरेको हो। सीमामा मदिराको खरिद–बिक्री तथा सेवन, नक्कली नोट कारोबार तथा अन्य अवाञ्छित गतिविधिमाथि कडा निगरानी गर्ने निर्णयसमेत गरिएको छ।
बैठकमा भारतीय पक्षले सिर्सिया नदीमा देखिएको जलप्रदूषणप्रति चिन्ता व्यक्त गर्दै रक्सौलतर्फ जाने पानी प्रशोधन गरेर मात्र पठाउन आग्रह गरेको जनाएको छ। साथै सीमा क्षेत्रमा देखिएको अतिक्रमण हटाउन सहयोगको मागसमेत गरिएको छ।
बैठकमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, पूर्वी चम्पारण जिल्लाका डिस्टिक्ट मेजिस्ट्रेट सौरभ जोरवाल तथा पश्चिम चम्पारण जिल्लाका मेजिस्ट्रेट धर्मेन्द्र कुमार सहभागी थिए।
नेपालतर्फ नेपाली सेना बाहेक अन्य सबै सुरक्षा निकायका प्रतिनिधिहरू बैठकमा उपस्थित रहेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया