काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले वर्तमान निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।
बुटवल मा आयोजित पत्रकार सम्मेलनमा उहाँले यो निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको बताउनुभयो । मुलुकले सामना गरेको विध्वंसकारी घटनाबाट राष्ट्रिय रूपमा शिक्षा लिनुपर्ने उहाँको भनाइ छ ।
भुसालले राजनीतिक दलहरूको कमजोरी उजागर गरी राष्ट्रिय संकल्प गर्नुपर्ने भए पनि त्यसो नगरी निर्वाचनमा जानु समस्या लुकाउने प्रयास जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले प्रमुख राजनीतिक नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका राजनीतिक तथा आर्थिक नीतिहरूको आलोचना गर्नुभयो ।
यस्ता नीतिले मुलुकलाई सङ्कटमा पुर्याएको भन्दै इतिहासबाट पाठ सिकेर भविष्यमा दोहोरिन नदिने संकल्प गर्नुपर्ने उहाँको भनाइ छ । साथै, गौरीबहादुर कार्की नेतृत्वको आयोगजस्ता प्रक्रियाले पनि यथार्थ उजागर नगर्ने आशंका उहाँले व्यक्त गर्नुभयो ।
भुसालले मुलुक भूराजनीतिक दबाबमा रहेको सानो राष्ट्रका रूपमा कमजोर बन्दै गएको उल्लेख गर्दै निर्वाचनपछि पनि पुरानै प्रवृत्ति दोहोरिन सक्ने चेतावनी दिनुभयो । परनिर्भर विकास मोडलले रोजगारी नदिने, विचौलियातन्त्र बलियो हुने र सुशासन कमजोर हुने खतरा रहेको उहाँको भनाइ छ ।
उहाँले राजनीतिलाई घरेलुकरण गर्नुपर्ने, पश्चिमेली मोडेलबाट मुक्त भई नेपाली मौलिक बाटो खोज्नुपर्नेमा जोड दिनुभयो । निर्वाचनलाई अवसरका रूपमा लिनुपर्ने भए पनि यसले मात्र सङ्कट समाधान नहुने र गहिरो पुनर्विचार आवश्यक रहेको उहाँले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया