संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालत द्वारा डोनाल्ड ट्रम्प को विश्वव्यापी भन्सार महसुल निर्णय बदर

165 Shares

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पले गएको वर्षदेखि लागू गरेको विश्वव्यापी भन्सार महसुलसम्बन्धी निर्णयलाई बदर गरिदिएको छ ।

ट्रम्पले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर यस्तो निर्णय गरेको ठहर गर्दै अदालतको बहुमतले बदर गर्ने फैसला सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानन्यायाधीश जोन रोबर्ट्स सहित तीन अनुदारवादी र तीन उदारवादी न्यायाधीशहरूले महसुलको विपक्षमा मतदान गरेका थिए भने तीन जना न्यायाधीशले असहमति जनाएका थिए ।

सर्वोच्चले आफ्नो फैसलामा राष्ट्रपतीय शक्तिलाई राष्ट्रिय आपतकालका लागि सुरक्षित गरिएको कानुन प्रयोग गरी व्यापक रूपमा महसुल थोपर्नु गलत भएको उल्लेख गरेको छ । गएको नोभेम्बरमा ट्यारिफसम्बन्धी बहस सुनेको अदालतले अन्ततः ट्रम्पको आर्थिक एजेन्डालाई ठूलो धक्का पुग्ने गरी फैसला सुनाएको हो ।

अदालतको आदेशले ट्रम्पले विश्वका धेरैजसो देशमाथि लगाएको व्यापक भन्सार महसुललाई खारेज गरिदिएको छ । सर्वोच्च अदालतको निर्णयप्रति राष्ट्रपति ट्रम्पले असन्तुष्टि जनाउनुभएको छ । साथै, उहाँले सर्वोच्च अदालतले खारेज गरेको निर्णयलाई प्रतिस्थापन गर्न १० प्रतिशत नयाँ विश्वव्यापी भन्सार कर लगाउने प्रतिबद्धता जनाएको बीबीसी ले जनाएको छ ।