काठमाडौं । हाल नेपाल मा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ।
शुक्रबार बिहान कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जनाइएको छ।
दिउँसो देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने अनुमान छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का वर्षा–हिमपात हुन सक्ने बताइएको छ।
राति कोशी र बागमती प्रदेश तथा अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेश प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया