नेपाली कांग्रेस उपसभापति शर्माले जेनजी युवालाई दल परिवर्तनबारे प्रश्न गरे

165 Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले जेनजी आन्दोलनमा सहभागी युवालाई विद्रोहपछि कुन दल परिवर्तन भयो भनेर प्रश्न उठाउनुभएको छ।

मोरङ–१, केराबारीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले २३–२४ भदौमा भएको आन्दोलनले समग्र क्षेत्रमा परिवर्तनको माग गरेको स्मरण गराउँदै भने, “राजनीति, सरकार, दल, प्रशासन र समाजमा परिवर्तन चाहिन्छ। एउटै निर्णयले सबै क्षेत्रमा परिवर्तन ल्याउन सक्दैन, तर सुरुआत हुन सक्छ। म जेनजी युवाहरूलाई सोध्न चाहन्छु– त्यो सुरुआत कसैले गर्‍यो कि गरेन?”

शर्माले जेनजी युवाले घरमै बसेर वा ‘डिस्कर्ड’मा संवाद गर्दा पनि परिवर्तनको सुरुआत कहींबाट भए त्यो आशाको सुरुआत भएको उल्लेख गर्दै, “कुन दलले नेपाली समाजको असन्तुष्टिलाई महाधिवेशनमार्फत पहिचान गरी नवीन दृष्टि निर्माण गरेको छ? कुन दलले विगतका कमजोरीप्रति आत्मालोचना गरेको छ? कुन दलले नेतृत्व परिवर्तन गरेर अघि आएको छ?” प्रश्न गर्नुभयो।

उपसभापति शर्माले परिवर्तन भावनात्मक मात्र नभई वास्तविक हुनुपर्ने जोड दिनुभयो।