काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको जिम्मेवारी सबै पालिकामा बाँडिने

141 Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सम्पूर्ण आर्थिक र व्यवस्थापकीय भार अब सबै पालिकाले बोक्ने भएका छन्।

उपत्यका मेयर्स फोरमको १३औँ बैठकले फोहोर व्यवस्थापनमा आर्थिक तथा व्यवस्थापकीय साझेदारीका लागि सबै नगरपालिकाले सहकार्य गर्ने निर्णय गरेको हो। अब उपत्यकामा फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले मात्र नभई बाँकी १७ नगरपालिकाले वित्तीय र व्यवस्थापकीय साझेदारीमा भाग लिनु पर्ने भएको छ।

अहिलेसम्म बञ्चरेडाँडा ल्याण्डफिल साइटमा भइरहेको फोहोर व्यवस्थापनको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोरेको थियो। बैठकको निर्णय अनुसार अब उत्पादन हुने फोहोरको मात्राका आधारमा सम्बन्धित पालिकाले खर्च ब्यहोर्ने व्यवस्था हुनेछ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले फोहोरमैला ‘ट्रान्स बाउन्ड्री’ (सीमा पार) समस्या भएको बताउनुभयो। मेयर्स फोरमका अध्यक्ष एवं चिरीबाबु महर्जन ले फोहोर व्यवस्थापनको जिम्मेवारी केवल काठमाडौं महानगरको विषय नभएको भन्दै सबैले सहकार्य गर्ने निर्णय भएको स्पष्ट पार्नुभयो।

बैठकले सघीय सरकारले फोहोरमैला व्यवस्थापनका लागि गरेका अध्ययन तथा अघि बढाएका विकल्पहरूलाई अपनत्व दिँदै पूर्ण सहयोग गर्ने निर्णय पनि गरेको छ।