अस्थायी मतदाता नामावली कार्यविधि २०८२ जारी, मतदान प्रक्रिया व्यवस्थित बनाइने

145 Shares

काठमाडौँ । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक अस्थायी मतदाता नामावली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ।

आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी उक्त कार्यविधि जारी गरेको हो। कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली सङ्कलन गर्ने कार्यक्रमसहित सूचना प्रकाशन गर्नेछ। आवश्यकताअनुसार राष्ट्रियस्तरका सञ्चारमाध्यममार्फत पनि सूचना प्रकाशन तथा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।

कार्यविधिअनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नाम स्थायी मतदाता नामावलीमा समावेश गरिनेछ।

यस्तै, कुनै व्यक्तिको नाम छुटेको वा विवरणमा त्रुटि भएमा सम्बन्धित व्यक्तिले प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्ने आयोगले जनाएको छ।