एजेन्सी । नेपाल र पोर्चुगल बीच द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बन मा हुने भएको छ।
बैठकमा दुवै पक्षले साझा चासोका विषय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य र नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्ने कार्यक्रम रहेको छ। बैठकको सह-अध्यक्षताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमृतबहादुर राई लिस्बन पुग्नुभएको छ।
परराष्ट्र मन्त्रालय का सचिव राईले पोर्चुगलको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै लिस्बनस्थित नेपालको राजदूतावास लिस्बन को नवस्थापित कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
यस क्रममा सचिव राईले नेपाली समुदायका प्रतिनिधिहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ। हाल पोर्चुगलमा ४० हजारभन्दा बढी नेपाली बसोबास गर्दै आएका छन्।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूका साथै पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल र दूतावासका अन्य अधिकारी सहभागी रहने छन्। नेपाल र पोर्चुगलबीच सन् २०१८ मा द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको थियो।
नेपाली प्रतिनिधिमण्डल आइतबार स्वदेश फर्कने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया