ग्याल्पो ल्होसारले सद्भाव र बन्धुत्व बढाउने : राष्ट्रपति

145 Shares

रामचन्द्र पौडेल ले पर्व–उत्सवमार्फत एक–आपसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ।

ग्याल्पो ल्होसार २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्नुभएको छ। उहाँले ग्याल्पो ल्होसार जस्ता पर्वहरूले नेपाली समाजमा एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ। यसले बृहत राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।

राष्ट्रपति पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षका रूपमा यो पर्व मनाउने परम्परा रहेको छ।

यस अवसरमा गाउँघर तथा टोलका बाटोघाटो र पानीका मुहान सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाइएको गुथुक तथा खाप्से जस्ता परिकार सबै मिलेर खाने र आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष स्वागत गर्ने चलन रहेको छ।