ग्याल्पो ल्होसार आज: शेर्पा समुदायले नयाँ वर्ष मनाउँदै

152 Shares

नेपाल का हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन्। यस पर्वलाई शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने परम्परा रहेको छ।

‘ल्हो’ अर्थात वर्ष र ‘छार’ अर्थात नयाँ भन्ने अर्थबाट बनेको ल्होसार शेर्पा समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। यस अवसरमा गाउँ–टोलका बाटोघाटो र पानीका मुहान सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने गुथुक खाने, खाप्से लगायतका परिकार बनाउने तथा आपसमा शुभकामना आदान–प्रदान गर्ने चलन रहेको छ। पारिवारिक तथा सामाजिक मेलमिलाप बढाउने अवसरका रूपमा पनि यस पर्वलाई लिइन्छ।

महायान बौद्ध परम्परा अनुसार चन्द्र पात्रोका आधारमा फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित यो पर्व मनाइन्छ। स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को धुन र सामूहिक उत्सवले पर्वलाई अझ विशेष बनाउने गर्दछ।

यस पर्वले समाजमा आपसी प्रेम, सद्भाव, एकता र भाइचाराको भावना बलियो बनाउने विश्वास गरिन्छ। साथै परिवार, साथीभाइ र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्य र समझदारीको वातावरण सिर्जना गर्ने मान्यता पनि छ।

ग्याल्पो ल्होसारका अवसरमा गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशीर्वाद लिने, खाप्से, डेशिल र गुथुक जस्ता परिकार खाने तथा परिवारसँग खुसीयाली साट्ने परम्परा पनि रहेको छ।

यस अवसरमा नेपाल सरकार ले सार्वजनिक बिदा समेत दिएको छ।