नेपाली कांग्रेस ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तयार पारेको चुनावी घोषणापत्र यही फागुन २१ गते सार्वजनिक गर्ने भएको छ। घोषणापत्र सार्वजनिक कार्यक्रम जनकपुरधाम मा आयोजना गरिनेछ।
पार्टीले मधेश केन्द्रित शक्ति प्रदर्शनसहित घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। मधेश प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव ले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार मधेशका ८ वटै जिल्लामा नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गरिएको छ भने करिब एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
सभामा पार्टीका शीर्ष नेतृत्वसहित सभापति गगन थापा को विशेष उपस्थिति रहने बताइएको छ। केन्द्रीय नेतृत्वको सहभागिताले मधेशमा पार्टीको चुनावी अभियान थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
घोषणापत्रमा मधेशको आर्थिक तथा सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखिएको दाबी गरिएको छ। रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सिँचाइ तथा भण्डारण पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक निर्माण, लगानीमैत्री वातावरण र सुशासनलाई मुख्य एजेन्डा बनाइएको छ।
मुख्यमन्त्री यादवले मधेशमा बढ्दो बेरोजगारी, कृषि उत्पादनमा स्थिरता र आधारभूत सेवाको कमजोर अवस्थालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो। मधेशको आर्थिक रूपान्तरणबिना राष्ट्रिय समृद्धि सम्भव नहुने दृष्टिकोणका साथ घोषणापत्र तयार गरिएको उहाँको भनाइ छ।
कार्यक्रमलाई लक्षित गरी सभास्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। बाहिरी जिल्लाबाट आउने सहभागीका लागि यातायात तथा अन्य व्यवस्थापनसम्बन्धी तयारी पनि पूरा भएको आयोजकले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया