भ्रामक समाचार रोक्न सञ्चार माध्यमलाई नेकपाको आग्रह, आचारसंहिता पालना गर्न अपिल

147 Shares

काठमाडौं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले केही सञ्चार माध्यमले आफ्ना उम्मेदवारविरुद्ध भ्रामक तथा गलत सूचना फैलाएको भन्दै आपत्ति जनाएको छ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टी नेता अग्नीप्रसाद सापकोटा ले पत्रकारिताको न्यूनतम मूल्य, मान्यता र निर्वाचन आचारसंहिता विपरीत भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै कडा आपत्ति जनाउनुभयो।

उहाँले त्यस्ता गतिविधि नगर्न सञ्चार माध्यमलाई आग्रह गर्दै निर्वाचन आचारसंहिता पालना गराउन कडा अनुगमन गर्न नेपाल प्रेस काउन्सिल को ध्यानाकर्षण गराउनुभयो।

नेता सापकोटाले निर्वाचन आचारसंहिता उल्लंघन हुने गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पत्रकारिताको मूल्य, मान्यता र नैतिकता पालना गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभयो। साथै निर्वाचन आयोग ले तोकेको आचारसंहिता कडाइका साथ लागू गर्न पनि अपिल गर्नुभयो।

उहाँले वर्तमान अवस्थामा देश संवेदनशील रहेको उल्लेख गर्दै निर्वाचन विथोल्न चाहने शक्तिहरू अझै सक्रिय रहेको दाबी गर्नुभयो। साथै निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो।