सङ्खुवासभा । प्रतिकूल मौसमका कारण करिब १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि पुनः सञ्चालनमा आएको छ। मौसममा सुधार आएपछि हवाई सेवा सुचारु भएसँगै यात्रुहरूलाई राहत मिलेको छ।
नागरिक उड्ययन कार्यालय का प्रमुख नवराज दाहाल का अनुसार आजबाट काठमाडौँ–तुम्लिङटार उडान नियमित रूपमा सञ्चालन हुन थालेको हो। मौसम अनुकूल भएसँगै रोकिएका उडान पुनः सुरु गरिएको उनले जानकारी दिए।
पछिल्लो केही दिनदेखि बाक्लो तुवाँलो र कमजोर ‘भिजिबिलिटी’ का कारण हवाई सेवा पूर्ण रूपमा प्रभावित भएको थियो। दृश्यता कम हुँदा विमान अवतरण तथा उडान सुरक्षित नहुने भएकाले उडान स्थगित गरिएको बताइएको छ।
उडान बन्द हुँदा सङ्खुवासभा तथा आसपासका जिल्लाका यात्रुहरू समस्यामा परेका थिए। विशेषगरी बिरामी, अत्यावश्यक कामका लागि यात्रा गर्नेहरू तथा व्यापारिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई बढी असर परेको स्थानीयले बताएका छन्। हवाई सेवा बन्द हुँदा केही यात्रु सडकमार्ग प्रयोग गर्न बाध्य भएका थिए, जसले समय र खर्च दुवै बढाएको थियो।
यस विमानस्थलबाट निजी क्षेत्रका विभिन्न विमान कम्पनीहरूले नियमित सेवा सञ्चालन गर्दै आएका छन्। मौसम अनुकूल भएसँगै आगामी दिनमा उडान नियमित हुने अपेक्षा गरिएको छ।
सम्बन्धित अधिकारीहरूले मौसमको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जनाउँदै यात्रुहरूलाई उडानसम्बन्धी जानकारी समयमै लिन आग्रह गरेका छन्। साथै प्रतिकूल मौसमको अवस्थामा हवाई सुरक्षालाई प्राथमिकता दिइने पनि कार्यालयले स्पष्ट पारेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया