काठमाडौं । हाल नेपाल मा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
सोमबार बिहान तराई भू–भागका केही स्थानहरू तथा उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको छ। साथै गण्डकी प्रदेश र कर्णाली प्रदेश को उच्च पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, सोमबार दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहने तथा अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ।
सोमबार राति भने तराई भू–भागका केही स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। साथै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया