काठमाडाैं । चितवन जिल्लामा आगामी प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित बनाउन सुरक्षा निकायले आफ्नो सक्रियतालाई तिव्र बनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरी का अनुसार निर्वाचन अवधिभर सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको छ। प्रचारप्रसारको १५ दिने अवधिमा (फागुन ४ गतेदेखि) सभा, सम्मेलन र जुलुस हुने भएकाले सुरक्षा परिचालन अझ प्रभावकारी बनाइएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले राजमार्गदेखि सबै निर्वाचन क्षेत्रका मुख्य नाकाहरूमा आकस्मिक जाँच (सरप्राइज चेकिङ) सुरु गरेको छ। चितवनलाई मध्यभागको ‘ट्रान्जिट प्वाइन्ट’ मानिँदै अन्य जिल्लाबाट अवैध सामग्रीको ओसार–पसार र निर्वाचन बिथोल्ने प्रयास रोक्न तालिमप्राप्त कुकुरहरूको प्रयोग गरी चेकप्वाइन्ट स्थापना गरिएको छ।
जिल्लाका तीन निर्वाचन क्षेत्रबाट मैदानमा रहेका कुल ६४ जना उम्मेदवारहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ। घरदैलो र चुनावी प्रचारका क्रममा आवश्यक सुरक्षा समन्वय मिलाइएको छ। एसपी पुरीले भने, “कुनै उम्मेदवारलाई सुरक्षा चुनौती महशुस भएमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार थप सुरक्षा उपलब्ध गराउन सकिने व्यवस्था छ।”
साथै, जिल्लाभर लङ–रेन्ज र सर्ट–रेन्ज पेट्रोल नियमित राखिएको छ। ठूला राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति र तीव्र प्रतिष्पर्धाका कारण निगरानी बढाइएको छ। हालसम्म कुनै अप्रिय घटना नभएको र सुरक्षा स्थिति चुस्तदुरुस्त रहेको प्रहरीले दाबी गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया