राप्रपाद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

153 Shares

काठमाडौं ।राप्रपाद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन ले घोषणापत्र वाचन गर्दै सार्वजनिक गर्नुभएको हो । राप्रपाले आफ्नो घोषणापत्रलाई ‘संकल्प पत्र’ नाम दिएको छ ।

घोषणापत्रमा अबको राष्ट्रिय गन्तव्यका रूपमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल – पृथ्वी पथ’ अवधारणा अघि सारिएको छ ।

पार्टीले शासकीय स्वरूपसम्बन्धी धारणा पनि घोषणापत्रमा समेटेको छ । जसमा अभिभावकीय संस्थाका रूपमा राजसंस्था आवश्यक रहेको उल्लेख गरिएको छ । साथै, प्रदेश संरचना खारेज गरी केन्द्र र बलियो स्थानीय तहसहित दुई तहको शासन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव राखिएको छ ।

त्यसैगरी, गैरदलीय स्थानीय तहको अवधारणा पनि घोषणापत्रमा समावेश गरिएको छ ।

जलस्रोत, पर्यटन, कृषि, सूचना प्रविधि र सुशासनलगायतका विषयलाई घोषणापत्रका प्रमुख प्राथमिकताका रूपमा समेटिएको राप्रपाले जनाएको छ ।