राष्ट्रिय सभाको १९ औँ अधिवेशन अन्त्य

147 Shares

काठमाडाैं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभा को चालु १९ औँ अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गर्नुभएको हो। बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले अधिवेशन अन्त्य भएको औपचारिक जानकारी गराउनुभयो।

संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ माघ २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको हो। माघ २९ गते जारी पत्रअनुसार २०८२ फागुन १ गते शुक्रबार राति १२ बजेदेखि अधिवेशन स्वतः अन्त्य भएको हो।

अध्यक्ष दाहालले अधिवेशन छोटो भए पनि कामका हिसाबले महत्वपूर्ण र भविष्यमा गर्व गर्न सकिने रहेको बताउनुभयो। प्रतिनिधि सभा निर्वाचनको संघारमा राष्ट्रिय सभाले अभिभावकीय भूमिका निर्वाह गरेको पनि उहाँले उल्लेख गर्नुभयो।

यस अधिवेशन अवधिमा पर्यटन विधेयक २०८१, चलचित्र विधेयक २०८१ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक २०८१ पारित गरी प्रतिनिधि सभामा पठाइएको छ। अभौतिक प्राकृतिक सम्पदा संरक्षण विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको छ।

त्यस्तै मतदाता नामावली ऐन (संशोधन), प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) सम्बन्धी अध्यादेशहरू सभाबाट सर्वसम्मत स्वीकृत भएका छन् भने सरकारले सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता लिएको छ।

२७ दिन चलेको यस अधिवेशनमा कुल ९ वटा बैठक बसेका थिए। जम्मा १७ घण्टा २५ मिनेट सभाको काममा खर्च भएको थियो। यस अवधिमा २९ सदस्यले शून्य समयमा ४८ मिनेट र १५ सदस्यले विशेष समयमा ३ घण्टा ३९ मिनेट समय उपयोग गरेका थिए।