राष्ट्रिय सभामा निर्वाचन सुरक्षा र समसामयिक विषयमा सांसदहरूको चासो

202 Shares

काठमाडाैं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभा को शुक्रबारको बैठकमा विशेष समयमा बोल्ने सांसदहरूले चुनावको सुरक्षा चिन्तादेखि समसामयिक विषयसम्म चर्चा गरेका छन्।

सांसदहरूले प्रतिनिधिसभा सदस्य चुनाव स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। शून्य समयमा सांसद शारदादेवी भट्ट ले चुनावका लागि अब तीन हप्ता मात्रै बाँकी रहेको उल्लेख गर्दै देशभर भयरहित, धाँधलीरहित र संयमतापूर्वक निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो।

त्यस्तै सांसद दुर्गाकुमारी गुरुङ ले प्रजातान्त्रिक आदर्श व्यवहारमा स्थापित गर्ने मुख्य माध्यम चुनाव नै भएको बताउँदै राजनीतिक दलहरूले महिला उम्मेदवारलाई अपेक्षित प्राथमिकता नदिएको गुनासो गर्नुभयो।

सांसद गोपीबहादुर सार्की अछामी ले संघीय संरचना कार्यान्वयन, संविधानको प्रभावकारी प्रयोग र परिवर्तनकारी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न चुनाव महत्त्वपूर्ण हुने धारणा राख्नुभयो।

यसैगरी सांसद गंगाकुमारी बेल्वासे ले दैलेख मा पहिचान भएको पेट्रोलियम उत्खनन गरी व्यावसायिक उत्पादन सुरु गरेर आन्तरिक आवश्यकता पूर्ति गर्नुपर्ने बताउनुभयो।